![]() |
मेरा सिक्किमे सहोदरहरू, |
||
|
धान खेतमा पनि धानका गाभाहरू लहलहाउँदै बढ़्दै जदा धान जस्तै आकृति र रूप लिएर धानबारी बीच-बीचमा सवाहरू पलाउँछन्। यस्ता सवाहरूलाई धानकै रङ्ग रूपमा देखेर उखेल-पाखेल गरी फ्यकिएन भने त्यसले धानलाई नोक्सान पुऱ्याउँछ। खेतबारी धनीलाई झुक्याउँछ। त्यसैगरी हाम्रो समाज, राजनीति र पार्टी सङ्गठनमा पनि बिस्तारै-बिस्तारै त्यस्ता जनघाती, समाजघाती र जनविरोधी तत्वहरूले जन्म लिदैछन्। यो एउटा स्वाभाविक घटना हो। हाम्रो पार्टी पनि यस स्वत: घटित हुने प्राकृतिक घटनाबाट चोखो रहेको छ भन्न सकिन्न। 16 वर्षको यात्रामा पार्टीभित्र यस्ता अराजक तत्वहरूले पार्टीलाई मान्द्रो बनाएर स्वार्थको बिस्कुन सुकाउने, तावा बनाएर राजनीतिको रोटी सेकाउने, होर्ल्याङ्गे बनाएर निजी सुविधाको मकै भुट्ने काम पनि प्रशस्त भएको मैले महसुस गरेको छु। एसडीएफ पार्टीलाई जनताको सचो मित्र संस्थाको रूपमा बचाई राख्नका लागि, यसको माध्यमबाट गरीब वर्गको इच्छा, आकांक्षा र सपनालाई सुरक्षा र नेतृत्व दिनका लागि, पार्टी भित्रैबाट उब्जेका सैद्धान्तिक र वैचारिक दुश्मनहरूलाई धानबारीबाट सवा उखेलेर मसे जस्तो मस्नुपर्छ। |
|||
| पार्टी नेतृत्वमा मेरो अहिलेसम्मको लामो अनुभवबाट मैले के तीतो अनुभव गरेको छु भने, हाम्रो पार्टीका सबै तहका कार्यकर्ताहरूले, अग्रीम र नेतृत्व पंक्तिका नेताहरूले, एसडीएफ पार्टीलाई बढ़ी इज्जत र महत्व दिनुभन्दा आफैलाई महत्व दिएर अघि सारेका छन्। पार्टीलाई, पार्टीको कार्यक्रम, सिद्धान्त र नीतिलाई, पार्टीले हासिल गरेका उपलब्धिहरूलाई पेश गर्नु, "प्रोजेक्ट' गर्नुको साटो आफूलाई मात्र अघाड़ि प्रस्तुत गर्ने, आफैलाई मात्र शान-बान र चमक-दमकसॅंग प्रदर्शन गर्ने सङ्गठनघाती र प्रतिक्रियावादी संस्कृति हाम्रो पार्टीभित्रै पनि बढ़ेको छ। हाम्रो पार्टीका प्राय: नेतृत्व पंक्तिका कार्यकर्ताहरूले आफूलाई आफ्नो पार्टी, सिक्किम र सिक्किमे जनताका लागि प्रस्तुत र प्रयोग नगरेर उल्टै पार्टीलाई नै आफ्नो सुविधा अनुसार दुष्प्रयोग गर्ने र आफ्नो नितान्त व्यक्तिगत स्वार्थपूर्ति गर्ने साधन (instrument) बनाएका छन्। यस्ता प्रतिक्रियावादी फटाहाहरूको दुराचार र सञ्जालबाट पार्टी जेलियो र भरियो भने पार्टीको दर्शन, कार्यक्रम र सिद्धान्त सही रूपमा जनतामा पुग्नसक्तैन, पार्टीको मुलभूत एजेण्डा मर्छ र निजी स्वार्थ नै मौलाउँछ। यसोहुँदा हामीले यो कुरा स्वीकार्नै पर्छ कि हामीले चाहे जस्तो गरेर, हाम्रो पार्टीका कार्यक्रम र सिद्धान्तहरू जनतामा पुगेका छैनन्, पुऱ्याइएका छैनन्। | |||
|
अहिलेसम्म हामीले हाम्रो सरकारको नीति र कार्यक्रमहरूका कारणले, सिक्किमे जनतालाई जे-जे कार्यक्रम र उपलब्धिहरू दिँदैछौं, ती सबै कुनै व्यक्तिको दान, उपहार र दया भएर पुग्दैछन्, एउटा पार्टी कार्यकर्ता, पञ्चायत वा एमएलए -को भेट र कोशेलीहरू भएर पुग्दैछन्। सरकारको नीतिका कारणले सम्भव हुनसकेका जनताका आफ्नै हक-बण्डाका उपलब्धि र अवसरहरू भएर पुगेका छैनन्। यो बढ़ो दु:खदायी कुरो हो। वास्तवमा सिक्किमे जनता अघि जे पनि सहुलियत, सुविधा, विकास, उपलब्धि र अवसरहरू अहिले भरमार छन्, त्यसको पछाड़ि एउटा प्रगतिशील र जनवादी पार्टी छ, एउटा अटल र अविचल नेतृत्व छ, पार्टीको आफ्नो नीति र स्थापित दार्शनिक धरातल छ, पार्टीका हर कुराहरूलाई संश्लेषण र विश्लेषण गरी सदैव सही दिशातर्फ अघाड़ि बढ़ाउने एउटा वैज्ञानिक पद्धति छ। जनताले सरकारबाट जे जति उनीहरूले चहेजस्तै पाउँदैछन्, त्यो कसैको बिर्ता नभएर आफ्नै हक पाएको कुरा हो भनी उनीहरूको घर आगनसम्म, मन र विवेकसम्म प्रकाशित गरिदिनु पर्ने हाम्रा अग्रीम पंक्तिका नेता र कार्यकर्ताहरूको परम कर्तव्य हो। यहनेर मलाई दु:खकासाथ भन्न कर लाग्छ कि यस्तो भएको छैन। |
|||
|
यसपाली पनि हाम्रा पार्टी कार्यकर्ताहरू, हाम्रो नेतृत्व पंक्तिका पार्टी कर्मीहरू प्रचारका लागि जनतामा जदैछन्। यसरी पार्टीका कुराहरू लिएर जनतामा जदा हाम्रा सबै तहका कार्यकर्ताहरूले पार्टीकै नीति र कार्यक्रम बोल्नुपर्छ, पार्टीको भाषा बोल्नुपर्छ, नेता र पार्टीको दिग्दर्शन र उद्देश्यहरू बोल्नुपर्छ। आफ्नै स्वार्थको डम्फू बजाउने कुराहरू मात्र बोलेर, आफ्नो व्यक्तिगत विचार मात्र बोलेर जनतालाई दिग्भ्रमित पार्नु हुँदैन। किनभने एसडीएफ पार्टी एउटा व्यक्तिको निजी आकाङ्क्षा पूरा गर्न होइन तर सम्पूर्ण जनताकै आकाङ्क्षाहरू पूरा गर्ने उद्देश्यमा गठन गरिएको हो। |
|||
|
अघि नै भनियो एसडीएफ पार्टी सिक्किम र सिक्किमे जनताको सर्वाङ्गीन विकास र चीरकालीन सुरक्षा गर्न जन्म भएको संस्था हो। त्यसैले हामीसॅंग समग्र जनताको हितभन्दा पर अर्को ठूलो कार्यक्रम छैन, सिक्किमको सुरक्षा र विकासभन्दा पर अर्को सपना छैन, पार्टीको निम्ति गरिने स्वार्थत्यागभन्दा अर्को ठूलो व्यक्तिगत स्वार्थ पनि छैन। हाम्रा सबै पार्टी कार्यकर्ताहरू गाउँ-गाउँमा जदा सम्पूर्ण सिक्किमे जनताको प्रतिनिधि भएर जानुपर्छ। हाम्रा कार्यकर्ताहरू गाउँ-गाउँमा जदा, जनताका बीचमा जदा जनताले हार्दिकतापूर्वक स्वागत गरून्, माया गरून् कि यी कार्यकर्ताहरूको माध्यम भएर हाम्रै पार्टी हाम्रो घर दैलोमा आउँदैछ। त्यसैले एसडीएफ पार्टीका कुनै पनि कार्यकर्ताहरू गाउँमा जदा व्यक्ति, जात, धर्म, सम्प्रदाय भएर जानुहुँदैन। एउटा निरपेक्ष, तटस्थ एसडीएफ पार्टीको समाजवादी विचारको कार्यकर्ता र यसको सन्देश वाहक (Massenger) भएर जानुपर्छ। छोटकरीमा भन्नुपर्दा एसडीएफ पार्टीका कार्यकर्ताहरू अरूभन्दा भिन्न शील-स्भाव र आनी-बानी भएका समाजकै मार्गदर्शक हुनुपर्छ। उनीहरूको स्वभाव र शालीन बोली-वचनले जनतालाई रिझाउनुपर्छ, अनि कार्यकर्ताले पार्टी, सरकार र नेताको सचो सन्देश जनतामा पुऱ्याउनुपर्छ। जनताबाट उठेका सबै प्रकारका गुनासोहरू, सुझाउ एवं आलोचनात्मक आवाजहरूमाथि सदैव गम्भीर बन्नुपर्छ। |
|||
|
एसडीएफ पार्टीको कुनै पनि कार्यकर्ताले कसैलाई पनि भावनात्मक घुर्की (emotional blackmail) गर्नुहुँदैन। कसैले पनि पार्टीको निर्देशविरूद्ध परस्पर विरोधी कुरा गर्दै गुटबन्दी गर्नुहुँदैन। पार्टीको निर्देश र हित विरूद्ध हुने, पार्टी नेतृत्वको स्वीकृति बिना कुनै सन्देश र विज्ञप्तिहरू प्रसार गर्नुहुँदैन। जनतामा जदा एसडीएफ पार्टीको सच्चा कार्यकर्ता भएर जानुपर्छ, कसैको गुरू भएर जानु हुँदैन। कुनै पनि आशयमा कहीं पनि कुनै प्रकारको गुटबाजी (groupism) गर्नुहुँदैन। |
|||
|
सिक्किमका 32 वटा निर्वाचन क्षेत्रहरू सिक्किमे जनताले आफ्ना प्रतिनिधि चुन्ने निर्वाचन क्षेत्रहरू हुन्। कुनै पनि क्षेत्र कुनै व्यक्तिको, जातको, धर्म र सम्प्रदायको निर्वाचन क्षेत्र हुँदैन। कुनै पनि जातको निर्वाचन क्षेत्रको रूपमा, कुनै पनि व्यक्तिको वर्चस्वको निर्वाचन क्षेत्रको रूपमा सिक्किमको कुनै क्षेत्रलाई कसैले पनि पेवा पोथी बनाउने कोशिश गर्छ भने त्यो अप्रजातान्त्रिक, अगणतान्त्रिक, जनविरोधी र एसडीएफ पार्टीको नीतिको विरूद्ध गरिने क्रियाकलाप हो। कुनै पनि समष्टि जनताको हो र जनताकै निम्ति बनेको हो, यो कुनै व्यक्तिको हुनसक्दैन। जनताले आफ्नो प्रतिनिधि आफै बनाउने परिपाटी भएको व्यवस्थाकै नाम प्रजातन्त्र हो भन्ने हेका नराखि एउटा इलाका विशेषमा आफ्नो दबदबा राख्न खोज्नेहरू पार्टीका सैद्धान्तिक दुश्मनहरू हुन्। त्यसकारण एसडीएफका कुनै पार्टी कार्यकर्ताहरूबाट यस खालका कार्यहरू घटित भएको खण्डमा पार्टीले अनुशासनात्मक कार्वाही पनि गर्नसक्नेछ। |
|||
|
एसडीएफ पार्टीका कार्यकर्ताहरूले
पार्टीको केन्द्य्रिा नेतृत्वको फसेलाअनुरूप र पार्टीको संविधान अनुरूप
सिक्किमका हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाउँ र ब्लक-ब्लकसम्म पार्टीको
प्रचार-प्रसार अभियान सञ्चालन गर्नसक्ने छन्। यदि यस कार्यमा कसैले
स्वार्थवश यो मेरो निजी ठाउँमा अरू पस्न हुँदैन भन्ने सोंच राखेर बाधा-अड़चन
पुऱ्याउँछ भने उसलाई पार्टी सिद्धान्तको विरोधी घोषित गरिने छ। |
|||
|
यसपाली पुर्नगठित हुने निर्वाचन
क्षेत्र स्तरीय कमिटि अघिसूचित नय पुर्नसीमाङ्कनका आधारमा हुनेछ र यसै
आधारमा नै आउँदो विधान सभा चुनाउ पनि सम्पन्न हुनेछ। |
|||
|
मैले पार्टी र सरकारको तर्फबाट सन् 2007
-सालको पार्टी स्थापना दिवस समारोहमै दोस्रो पुस्ताको क्रान्तिको कुरा उठान
गरेको थिएँ। सामाजिक र राजनैतिक ढचाले जन्माएको अहिलेको अवस्था सिक्किमे
युवाहरूका लागि पेशा परिवर्तनको अवस्था हो। विकसित युगको नय बिहानीले सबै
सिक्किमे युवाहरूलाई शिक्षा र नय सपनाहरू दिनुसॅंगै पिता-पुर्खाले गर्दै
ल्याएको पेशाबाट अचनाक आफ्नो पुराना पेशाहरू बद्लेर नय पेशा लिने अवस्थाको
सिर्जना गरिदियो। वंशानुक्रम पेशासॅंगको यस अकस्मात विच्छेदले युगको माग
अनुसार अङ्गीकार गर्नु पर्ने नय पेशामा संलग्न हुनका लागि चाहिने जति कौशल
उनीहरूले प्राप्त नगरेकोले युवाहरूमा अन्योल अवस्थाको सिर्जना गरिदियो।
परिणामस्वरूप हामीमा श्रमप्रतिको आदरभाव (result-oriented) र परम्परागत
पेशाहरूप्रतिको जगर र शीप लोप हुने अवस्था आयो। यही अन्योलको अवस्थालाई
सम्बोधन गर्न नै हामीले दोस्रो पुस्ताको क्रान्तिको कुरा गरेका थियौं।
हामीले विशेष गरी हाम्रा युवावर्गमा उत्पादनशीलता, कार्यक्षमता, चेतना र
जागृति सञ्चार होस्, नय ऊर्जा र जोशसॅंग उनीहरूको व्यावहारिक रूपान्तरण होस्,
उनीहरूको भित्री क्षमता (Potentiality) बाहिर आओस्, उनीहरूको शक्तिले हाम्रो
सिक्किमे समाजलाई समृद्धिको नय उचाइँ प्रदान गरोस् भनी दोस्रो पुस्ताको
क्रान्तिको थालनी गर्ने घोषणा गरेका थियौं। |
|||
|
वर्ष 2008 -लाई हामीले "जिम्मेवारी वहन'
वर्ष घोषणा गरेका छौं। हाम्रो पार्टीका सबै कार्यकर्ता, विधायक, मन्त्री,
स्यवं मुख्यमन्त्री सबैले आफ्नो कर्तव्य क्षेत्रलाई इमान्दारीपूर्वक
निर्वाह गरून् भन्ने हाम्रो उद्देश्य हो। हामी नेतृत्व पंक्ति भएको र
अरूबाट विश्वास गरिएको मान्छे भएकोले, आफू उदाहारण भएर अरूलाई प्रेरणा दिने
काम गर्नुपर्छ। आफू उदाहरण भएर अरूलाई सही मार्गमा डोऱ्याउनुपर्छ। ठिकै
भनिएको छ, "पशुलाई पछिबाट खेदेर बाटोमा हिँड़ाइन्छ भने मान्छेलाई सही बाटोमा
हिँड़ाउन आफू अघि लाग्नुपर्छ।' त्यसैले अघाड़ि हिँड़नेहरू इमान्दार,
कर्त्तव्यनिष्ठ र उदाहरणीय हुनुपर्छ। इमान्दारी भनेकै सोच, बोली र व्यवहारको
सन्तुलन हो। |
|||
|
हाल हाम्रा जनता पनि बढ़ो सचेत र हर
कुराको विश्लेषण गर्नसक्ने चेतना सम्पन्न भइसकेका छन्। यदाकदा आजभोलि जनताले
छाताको करङ्ग फेर्नुपर्छ भन्ने साङ्केतिक वाक्यांशहरू उजागर गर्न थालेका छन्।
आज जनताले छाताको करङ किन फेर्ने कुरा गर्दैछन्? पार्टी कार्यकर्ताहरूले यस
कुरालाई गम्भीरतापूर्वक लिएर आत्मलोचना गर्नुपर्नेछ। |
|||
|
पवन चामलिङ |
|||